रत्ननगर वडा नं–१५ स्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक वर्षमा २६ लाख ८७ हजार रूपैयाँ मुनाफा गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेको संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ३८ हजार रूपैयाँ आम्दानी गरेको हो ।
शनिबार आयोजित संस्थाको आठौँ वार्षिक साधारण सभामा कोषाध्यक्ष विमला पाण्डे बन्जाराले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सो संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेकोमा १ करोड १२ लाख ९४ हजार खर्च कटाएर २६ लाख ८७ हजार रूपैयाँ खुद मुनाफा भएको उल्लेख छ ।
साधारण सभामा अध्यक्ष हरिकुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ का लागि २० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सामुदायिक विद्यालयहरु र किरियापुत्री भवनलाई पानी महसुलमा ६० प्रतिशत छूट दिँदै आएकोमा यस आवदेखि ९५ प्रतिशत छूट दिने, सुकुमबासी वर्गलाई धारा जडानमा ७५ प्रतिशत छूटसहित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाले प्रदान गरेको सेवा प्रवाहलाई चुस्तदुरूस्त र पारदर्शी बनाउन अर्धवार्षिकरुपमा समीक्षासहित आम्दानी तथा खर्च सार्वजनिक गर्ने, पानीका स्रोतहरु सुक्न सक्ने अवस्थालाई मध्यनजर गरी पानीको स्रोत संरक्षणका लागि पोखरी निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सेवा क्षेत्रभित्र (चर्पी, धारा, भान्छा, व्यक्तिगत सरसफाइ) ‘उपभोक्तासँग स्वच्छ खानेपानी’ अभियान सञ्चालन गर्ने, रनपा–१५ मा रहेको ट्याङ्कीबाट सहज पानी वितरण गर्न अनुदानमार्फत १ वटा बोरिङ खन्ने व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बन्जाराले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नं–१५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं–१६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्याल, साबिक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

